एएफसी एसियन कप २०२३ छनोटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै


२८ जेष्ठ २०७९, शनिबार ०८:४५ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ । नेपाल र कुवेत छनोटमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले तथा कुवेत घरेलु मैदानमा इन्डोनेसियासँग २–१ ले स्तब्ध बनेको थियो ।

बलियो टोली कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । तर, बलियो कुवेतविरुद्ध नेपाललाई जित हात पार्न सहज हुनेछैन ।

जोर्डनविरुद्ध डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक दीप कार्की पहिलो रोजाईमा रहने सम्भावना छ । टोलीसँग कप्तान नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, सुमन अर्याल, गौतम श्रेष्ठ, विकास तामाङ, पुजन उपरकोटी, सन्तोष तामाङ, एरिक विष्ट, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्कीलगायत खेलाडीको साथ रहेको छ ।

यता, घरेलु टोली कुवेत पनि नेपाललाई पराजित गर्दै छनोटमा पहिलो जितको खोजीमा हुनेछ । छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

समान ३ अंक जोडेको जोर्डन शीर्ष तथा इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here