सँधै भन्दा एक साता अघि नै मनसुन सक्रिय, बढ्यो बाढी-पहिरोको जोखिम


२६ जेष्ठ २०७९, बिहीबार १०:१० मा प्रकाशित

काठमाडौं । मनसुनको सुरूवातसँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोको प्रभाव देखिन थालेको छ। यसपाली करिब सातादिन अघि नै मनसुन सुरू भएको हो। देशका धेरै ठाउँमा अहिले पनि वर्षा भइरहेको छ।

अघिल्लो वर्ष ठूलै मानवीय र भौतिक क्षति पुर्‌याएको सिन्धुपाल्चोकको मेलम्ची खोला फेरि उर्लिन थालेको छ। खोलामा बनाइएका अस्थायी पुलहरू पनि भत्किएका छन्।

त्यस्तै शुक्रबार बिहानैदेखि नारायणघाट-मुग्लिन सडकखण्डमा पनि पहिरो खसेर यातायात प्रभावित भएको छ।

नेपालको पूर्वी भूभागमा मनसुनी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा बिहारमा विकसित पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभावले यहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ। प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उपत्यकामा पूर्ण रुपमा बदली छ। दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here