जनकपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोसपालाई पार्टी एकताका लागि आह्वान गर्नु भएको छ।
विगतमा नेकपा एमाले अध्यक्ष ओलीको भड्काउमा जसपाबाट महन्थ ठाकुरको समूह फुटेर जाँदा घाटा भएको बताउँदै उहाँले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको दाबी गर्नुभयो।
बुधबार बिहान जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो कुरा बताउनु भएको हो।
‘ओलीको भड्काउमा हिजो जसपाबाट महन्थ ठाकुर नेतृत्वमा एक समूह फुटेर जानु भयो। आज समीक्षा गर्ने समय छ, पार्टी फोडेर कसलाई के फाइदा भयो ? जनमत बाँडिदा मधेशी जनतालाई नै घाटा भएको छ। त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैन’, अध्यक्ष यादवले भन्नुभयो,’आउनुस् अहिले पनि समय छ। फुटेर हैन जुटेर अघि बढौं। यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं।’





