अब्बल बन्दै झापाका सामुदायिक विद्यालय


२४ जेष्ठ २०७९, मंगलवार १९:४३ मा प्रकाशित

भरत प्रसाई। झापाका केही सामुदायिक विद्यालयहरु पठनपाठन, भौतिक संरचना तथा व्यवस्थापनका हिसाबमा अहिले अब्बल साबित हुन थालेका छन् । केही बर्ष अघिसम्म सामुदायिक विद्यालय भन्ने वितिक्कै अभिभावकहरुले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद्यालयहरुबाट नानीहरु निकालेर सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका हुन् । विर्तामोड नगरपालिका क्षेत्रका केही यस्ता विद्यालय छन्, जहाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्छ ।

निजी विद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गर्ने गराउने हुनाले विगतमा त्यस्ता विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण हुने गथ्र्याे ।तर अचेल विर्तामोडका केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेका कारण ती विद्यालयहरुमा विद्यार्थीको चाप बढन थालेको छ । कुनै विद्यालयमा त भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था समेत रहँदै आएको छ । देशका कतिपय सामुदायिक विद्यालयहरु विद्यार्थी अभावमा छट्पटाइ रहेका बेला विर्तामोडका देवी मावि, मोहनमाया मावि जस्ता सामुदायिक विद्यालय अहिले विद्यार्थी तथा अभिभावकको रोजाइमा परेका छन् । ती विद्यालयले सुविधा सम्पन्न निजी विद्यालयसंग प्रतिष्पर्धा गरिरहेका छन् ।देवी माविमा कम्प्युटर विज्ञान, इन्जिनियरिङ तथा अन्य व्यावसायिक विषय पढाइ हुने गरेकाले विद्यार्थीको चाप बर्षेनी बढिरहेको छ । चुस्त व्यवस्थापन, लगनशील शिक्षक, सुविधा सम्पन्न प्राविधिक प्रयोगशालाका कारण देवी माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइन्छ । अहिले उक्त माविमा ३ हजार २ सय विद्यार्थी अध्ययनरत छन ।

२०१९ सालमा स्थापना भएको देवी माध्यमिक विद्यालय भौतिक संरचना, प्राविधिक श्रोतसाधनको हिसावले झापामै उत्कृष्ट सामुदायिक बिद्यालय रहेको बताउँदै शिक्षण संस्था विधि र पद्वतिमा चल्नुपर्ने प्रधानाध्यापक अम्विका श्रेष्ठ बताउनुहुन्छ ।

सोही अनुसार प्राविधिक विषय पढाइ हुने बिर्तामोड नगरपालिका क्षेत्र रामचोकमा रहेको मोहनमाया माविले पनि उत्तिकै अब्बल सावित गर्दै आएको छ । कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ जस्ता विषयका कारण विद्यार्थीको आकर्षण पनि मोहनमायामा बढ्दै गएको छ । दुर्गम स्थानका विद्यार्थीहरूसमेत मोहनमायामा आएर अध्ययन गरिरहेका छन् ।

बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीका अनुसार सरकारी बिद्यालयको शैक्षिक स्तर पहिलेको भन्दा सुधारोन्मुख रहेकाले केही बिद्यालयले फड्को मार्ने अवस्थामा पुगेको र केही शुरुवाती चरणमा रहेकोले सुधार नै हुन नसकेको हो ।

सरकारले झापामा रहेका ३ सय ६५ सामुदायिक विद्यालयमा समान भौतिक संरचना र शिक्षक नियुक्त गरेपनि औलामा गन्नसक्ने विद्यालयले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएका छन् । अन्य विद्यालयले पनि देवी र मोहनमायाबाट सिक्ने कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here