नाबालिग छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका खड्का पूर्पक्षका लागि कारागार चलान


२० जेष्ठ २०७९, शुक्रबार १२:५४ मा प्रकाशित

झापा । सुनसरीमा नाबालिग छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पूर्पक्षका लागि कारागार चलान गरीएको छ ।

खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले गत बिहीबार काठमाडौंबाट पक्राउ गरी सुनसरीमा ल्याएको थियो । उनीविरुद्ध पीडित छात्राले २०७२ देखि २०७३ सालको अन्तिमसम्म प्रिन्सिपल हुँदा पटकपटक बलात्कार गरेको उजुरी दिएकी थिइन ।

पीडितले २०७४ भदौ २ मा ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरे पनि खड्का भने फरार थिए । बलात्कृत हुँदा पीडितको उमेर १५ वर्षको थियो ।

खड्कालाई शुक्रबार बिहान सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो । बयानपछि थुनछेक बहस भएको र उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

उनलाई झुम्का कारागार पठाइएको छ । अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार पीडितले दिएको उजुरीका आधारमा फरार खड्का पक्राउ परेका थिए ।

कक्षा ९ मा अध्ययनरत रहँदा होस्टलमा बसेका बेला पटकपटक बलात्कार भएको युवतीको आरोप छ । हाल २२ वर्ष पुगेकी पीडित युवतीका अनुसार उपचार गराउन लैजाने बहानामा प्रिन्सिपल खड्काले पहिलो पटक धरानको एउटा होटलमा लगेर बलात्कार गरेका आरोप अगाएकी छिन् ।

खड्काले बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गर्दै अरुलाई भनेमा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटकपटक बलात्कार गरेको आरोप लगाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here