झापाबाट बाइक चोरी गर्दै पहाड लगेर बेच्ने घटना बढ्दो, दुई जना पक्राउ


१८ जेष्ठ २०७९, बुधबार ०९:१२ मा प्रकाशित

झापा । झापाबाट मोटरसाइकल चोरी गर्दै पहाडका दुर्गम भेगमा लगेर बेच्ने गरिएका घटना बढ्दै गएका छन्।

झापाको दमकबाट चोरी भएका मोटरसाइकल पाँचथरमा फेला परेको छ । प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ ।

दमक नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका मोटरसाइकलहरू धमाधम चोरी हुन थालेपछि सवारी धनीले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीमा एकपछि अर्को गर्दै उजुरी पर्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा झापा प्रहरीले चार वटा मोटरसाइकल पाँचथरको मिक्लाजुङबाट फेला पारेको हो ।

मोटरसाइकल चोरीमा संलग्न मिक्लाजुङ गाउँपालिका– ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

जेठ १३ गते दमक नगरपालिका– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । सोही मोटरसाइकल योङवा र कुरुवाङले पाँचथरमा लगेर चलाइरहेको अवस्थामा प्रहरीले भेटाएपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डिएसपी पाठकले बताउनुभयो ।

जेठ ९ गते दमक ६ स्थित गायत्री बोर्डिङ स्कुल अगाडि पार्किङ गरी राखिएको दमकका सविन राईको प्र १–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाइकल, जेठ ६ गते दमक– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको इलाम चुलाचुलीका भीमा अधिकारीको प्र १–०१– १४ प १२४० नम्बरको पल्सर मोटरसाइकल र जेठ २ गते दमक– ६ स्थित नमुना मार्केटमा पार्किङ गरी राखिएको दमकका खेमराज गुरागाईंको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here