झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई शपथग्रहण गराइएको हो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले शपथग्रहण गराउनु भएको हो । कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुना देवी आचार्य,तिला गौतम,निर्मलादेवि सुनार,लक्षिमा खतिवडा,संगीता सिवा,सिता ढुङ्गाना वि.क,शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहनु भएको छ । शपथग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

शपथग्रहण पछि कार्यपालिकाको बैठक समेत बसेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९/८०को बजेट,नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा छलफल भयो ।
बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको २ दिने अभिमुखिकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६मा पर्ने हर्कलाल सडक मार्ग सडक,वडा नम्बर ५को कन्काई मार्ग सडक,वडा नम्बर ९मा पर्ने शहिदचन्द्र मार्ग सडक, वडा नम्बर ४मा पर्ने विद्युत प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक,वडा नम्बर ७को गरामनि बजार उत्तर भुसावाडी जोड्ने सडक,वडा नम्बर १को नचानुटोलहुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा,देउनिया,अदुवा खोला कटान नियन्त्रण योजनाहरुका लागि प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकिय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएकाकारण ग्राभेलको व्यवस्था गर्न नगरप्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।जनप्रतिनिधिहरु नव निर्वाचित भएपछिको यो दोस्रो कार्यपालिका बैठक हो । यस अघि जेठ ११ गते पहिलो बेठक सम्पन्न भएको थियो ।






