उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ ।
बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिट मध्य ४१ सिट जितेको एमालेले निर्बिरोध कार्यपलिका सदस्य गठन गरेको छ । नगरको कार्यपालिका सदस्य निर्वाचनको लागी जेष्ठ १५ गते मनोनयन दर्ता र १७ गते चुनावको मिती तोकिएकोमा निर्धारीत समयमा एमालेका उमेदवारको मात्र मनोनियन दर्ता भए पस्चात उनिहरु निर्बिरोध निर्वाचित भएका हुन । मंगलबार चौदण्डीगढी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर निर्बिरोध निर्वाचित भएका कार्यपालिका सदस्यको नाम निर्वाचन अधिकृत महेश दाहालले सार्वजनिक गर्नु भएको थियो ।
चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्बिरोध निर्वाचित हुनेहरुमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदय राज भुजेल, माधव सार्की र जय कुमार राई तेस्तै महिला सदस्य पदमा स्मृती तोलाङ्गी सुयल, तिलावती राई, शुस्मा राई, जानकी देवी चौधरी र शान्ती देवी चौधरी रहनुभएको छ । कार्यपालिकाको सदस्य निर्वाचनको मनोनयन दर्ताको समयमा उनिहरुको मात्र उमेदवारी दर्ता भए पस्चात स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
निर्वाचित भएका सम्पूर्ण नगर कार्यपालिका सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाण पत्र समेत आजै हस्तान्त्रण गरेको थियो भने नगर प्रमुख कालुमान लामाले उनिहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।





