काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताउनु भएको छ।
उहाँले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गर्नुभएको छ।
‘बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ आज ट्वीट गर्दै शर्माले भन्नुभयो।
उहाँले जनताको काममा जनप्रतिनिधिलाई सघाउनुपर्ने पनि बताउनु भयो।
‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो,’ शर्माले भन्नुभयो, ‘मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौं।’





