झण्डै साँढे २ क्विन्टल गाँजासहित पत्थरकोटबाट ६ जना पक्राउ


११ जेष्ठ २०७९, बुधबार १३:५९ मा प्रकाशित

मलंगवा । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटबाट ठूलो परिमाणमा लागूऔषधको रुपमा प्रयोग हुने गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

पत्थरकोटका कान्छामान थिङको घरबाट दुई क्विन्टल ३७ केजी ६०० ग्राम गाँजासहित छ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा घरधनी ३८ वर्षीय कान्छामान, सोही वडाका २१ वर्षीय सुनिल दोङ, १९ वर्षीय विशाल थिङ, २१ वर्षीय मिलन थिङ, १९ वर्षीय निकेश दोङ र लालबन्दी नगरपालिका–१४, नारायण खोलाका १९ वर्षीय राज बम्जन रहेको प्रहरी कार्यालय लालबन्दी जनाएको छ ।

घरभित्र प्लाष्टिकको बोरा र प्लाष्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा लुकाइछिपाइ राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न भएको एउटा अनटेष्ट र अर्को प्रदेश–२–०३–०११ प ४२८० नम्वरको दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।

गाँजासहित पक्राउ परेका छ जनाविरुद्ध मंगलबार नै सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो । पक्राउ परेकाहरुलाई लालबन्दी प्रहरीको हिरासतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here