हरिवन । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका परिणामहरु धमाधम बाहिर आउन थालेका छन् ।
सर्लाहीमा पनि धेरैजसो पालिकाहरुको नतिजा सार्वजनिक भइसकेको छ । यसैक्रममा सर्लाहीको हरिवनमा भने चुनावी मत परिणामले रोचक मोड लिएका छ ।
यहाँ एउटा पनि वडामा नजितेको माओवादी केन्द्रले मेयरमा कडा टक्कर दिइरहेको छ । माओवादी केन्द्रका नेता कमल बुढाथोकी रमेशले यहाँ मेयरमा एमालेका उमेदवार गणेश प्रसाद प्रसाईलाई कडा टक्कर दिएका छन् ।
हरिवनमा १ देखि १० नम्बर वडा सम्मको नतिजा सार्वजनिक भईसकेको छ । जसमा १,२,४,९ नम्बर वडा काँग्रेसले जिति सकेको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा एकीकृत समाजवादी विजयी भएको छ भने एमालेले वडा नम्बर ३, ७, ८ र १० मा जितेको छ ।
माओवादी केन्द्रले भने हरिवनको कुनै पनि वडामा जितेको छैन तर मेयरमा भने एमालेका उमेदवारलाई कडा टक्कर दिएको छ । अहिले वडा नम्बर ११ को मतगणना चलिरहेको छ । पछिल्लो विवरण अनुसार ११ नम्बर वडामा पनि १८ सय मत गनि सकिएको छ । अझै लगभग एक हजार मत गणना हुन बाँकी छ ।
अहिले सम्मको परिणाम अनुसार माओवादीका कमल बुढाथोकीले लिड गरेका छन् । ११ नम्बर वडाको १८०० मत गन्दा मेयरमा कमल बुढाथोकी एमालेका गणेश प्रसाई भन्दा ५७ मतले अघि देखिएका छन् । कमलले ६३२२ मत प्राप्त गरेका छन् भने गणेशले ६२६५ मत पाएका छन् ।
नगरको अन्तिम तर निर्णायक वडाको मत गणना भइरहँदा मेयरमा कस्ले बाजी मार्ला भन्ने चासो बढेको छ । हरिवनबासीको ध्यान यतिबेला मत परिणाममा नै केन्द्रित भएको छ ।
कतिले कमल बुढाथोकीले जित्ने बताई रहेका छन् भने कतिले हरिवन ११ एमालेको गढ भएकोले गणेश प्रसाईले नै जित्छन् भनिरहेका छन् । तर मत परिणाम कहिले कमलको पोल्टातिर त कहिले गणेशको पोल्टातिर परिरहेको छ । यसले हरिवनको मेयर को बन्ला भन्ने चासो बढाएको छ ।





