सर्लाही । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा बोलेरो पिकअप र बस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना ५ ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो। दुर्घटनामा परेर बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै दुर्घटनापछि अनियन्त्रित भइ पल्टिएको बसले च्याप्पिएर बसका चालक विदुर निरौलासहित १२ जना यात्रु घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ। अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको माछा बोक्ने बोलेरो अनियन्त्रित भएर आफ्नै साइडमा गुडिरहेको बसलाई ठक्कर दिन पुगेको थियो।
पिकअपबाट जोगिन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको आशंका छ। बससँग ठोक्किएको पिकअप भ्यान छुट्टिएर जंगलभित्रै पुगेको छ। बस सडक किनारमा पल्टिएको छ। दुर्घटना लगत्तै पिकअपका चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याकइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





