कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरको ३ नं वडामा राप्रपाको प्यानल नै विजयी


२ जेष्ठ २०७९, सोमबार ०६:०३ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको छ ।

भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको छ । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

उहाँले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गर्नु भएको हो ।

तामाङ काँग्रेसका वडा सभापति हुनुहुन्छ भने थुलुङ निवर्तमान वडाध्यक्ष हुनुहुन्छ । कार्कीले १०१४ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याउनु भएको छ । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् ।

महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याएर राप्रपाबाटै निर्वाचित भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here