श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेद्वारा राजीनामाको तयारी


२५ बैशाख २०७९, आईतवार ०७:५५ मा प्रकाशित

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा तयारी गर्नुभएको छ । देशभर आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उहाले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उहा निकट श्रोतहरूले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उहालाई राजीनामा दिन अत्यधिक दबाब परेको छ । आन्दोलनकारीहरूले प्रधानमन्त्री महिन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन् ।

उहाले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै जाने देखेर राजीनामा दिने तयारी गरेको बताइएको छ । आन्दोलन चर्किदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री महिन्दा राजपाक्षे राजीनामा दिन सहमत भएको जनाइएको छ । देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महङ्गी र अभाव बढेको छ । महङ्गी र अभावबाट आक्रोशित जनताले आन्दोलन गरेका छन् ।आन्दोलनपछि सरकारले सङ्कटकाल लगाएको छ ।

यसअघि आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए । प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here