राष्ट्रिय खेलकुद परिषदद्वारा नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक


२४ बैशाख २०७९, शनिबार १९:०३ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौंमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो ।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो ।
छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको हो ।
लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ ।

आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

कार्यक्रमम मन्त्री गहतराजले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदलाई भव्यरुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक छलफल गरेको जानकारी दिनुभयो । यो बर्ष निर्वाचनको बर्ष भएपनि खेलकुद प्रतियोगिताको आयोजनामा कुनै कमी हुन नदिने उहाको भनाई छ ।मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ ।

सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here