गठबन्धनको भागबण्डा नमिल्दा, विराटनगर महानगरपालिकामा समस्या


२४ बैशाख २०७९, शनिबार १६:२९ मा प्रकाशित

विराटनगर । उम्मेदवारी छनौट र स्थानीय तह भागबण्डामा कुरा नमिल्दा विराटनगर महानगरपालिकामा गठबन्धनभित्र ठूलो समस्या देखिएको छ ।

चुनावको लागी गठबन्धन गरेका चार दल चारतिर फर्किएर चुनावी अभियानमा लागेका छन्। ।
दलहरूकाबीचमा मेयर र उपमेयरमा सघाउने भएपनि वडा अध्यक्षमा नेपाली कांग्रेसले एकलौटी गरेको आरोप प्रत्यारोप अन्य दलले लगाउदै आएका छन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले चुनावमा आफ्ना अभियानसँगै गठबन्धनभित्रका असन्तुष्टी रहेको समेत बताए ।

नेकपा माओवादी केन्द्र महानगरपालिका सहइन्चार्ज भोगेन्द्र यादवले केन्द्रिय गठबन्धनअनुसार विराटनगर महानगरपालिकामा सघाएर जाने भनिएपछि वडा अध्यक्ष र अरू पालिकाहरूमा तालमेल गर्नुपर्नेमा त्यो नभएको गुनासो गरे ।
‘विराटनगरमा मेयर उपमेयरमा उम्मेदवार नउठाएको भएपनि वडा तहमा अहिले एक्लाएक्लै उम्मेदवार बनाएर अघि बढ्नु परेको छ, कुनै समन्वय भएन’, उनले भने, ‘हामीले पटकपटक मिलेर जाऊँ भन्दापनि खासै वास्ता गरेको देखिएन ।
केन्द्रीय गठबन्धनअनुसार ठूलो पर्टीको हिसाबमा कांग्रेसलाई मेयरको रूपमा अघि सार्ने भनेर भनिएको थियो त्यही अनुसार माओवादीले उम्मेदवारी नदिएको उनले बताए। कांग्रेसले गठबन्धन गर्ने भनेर केन्द्रको निर्णय अनुसार केन्द्रको पत्र नआएको भनेको विषयलाई लिएर यादवले अहिले पनि माओवादीलाई गठबन्धन भएको भनेर पत्र नआएको जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले केन्द्रीय गठबन्धनको ढाँचा अनुसार कुनैपनि पालिकामा एकिकृत समाजवादीसँग तालमेल नभएको गुनासो गरे।

हामीले एक्लै जानुपर्ने अवस्था आएपनि केन्द्रको नीतिलाई भने महानगरको मेयर र उपमेयरको विषयमा एकीकृत समाजवादीले स्वीकार गरेर जाने उनले बताए। नेकपा एकिकृत समाजवादीले पनि बिराटनगर महानगरपालिका तीन वडा बाहेकका सबै वडामा वडा अध्यक्षमा उम्मेदवारी दिएको छ ।

महानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने भनेर सहमति भएपनि वडा अध्यक्षमा भने सहमति हुन सकेन सबै दलले आफ्ना उम्मेदवार उठाएका छन् । सँगै मिलेर चुनावी अभियानमा जानुपर्नेमा त्यस्तो नभएपछि अहिले एक्लाएक्लै उम्मेदवारी दिएर अघि बढ्नु परेको रेग्मीको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मोरङका उपसभापति तथा मेयरका उम्मेदवार नागेश कोइरालाले आफूहरू पार्टीको सच्च सिपाही भएको कारण पार्टीको निर्देशनलाई कार्यान्वयनमा लागिएको बताएका छन्।

‘नेपाली कांग्रेस केन्द्रको निर्देशनअनुसार कांग्रेसले मेयर र जसपाले उपमेयर पाउने भन्ने भएको थियो, अरू विषयमा मित्रवत प्रतिस्पर्धा गर्ने भनियो’, उनले भने, ‘पार्टीहरूले स्थानीय तहको आवश्यकताको आधारमा कहाँ कसरी उम्मेदवार टुंगो लगाउने र गठबन्धन गर्ने भन्ने बारेमा स्थानीय दलहरूलाई निर्देशन दिएको कारणले यो परिस्थिति उत्पन्न भएको हो।’
टिकट लिँदै गर्दा आफू काठमाडौँमा भएको उल्लख गर्दै विराटनगरमा कसरी गठबन्धनका कुरा अघि बढे भन्नेबारे आफूलाई जानकारी नभएको उनले स्पष्ट पारे। ‘काठमाडौँबाट मेयर भएपछि बोल्ने कुरा भएन’, उनले भने, ‘त्यसैले गर्दा सबै गठबन्धनका नेताहरूले मेयर र उपमेयरमा केन्द्रबाट आएको निर्देशनअनुसार कार्यान्वयन गर्नुपर्ने अवस्था छ।’

गठबन्धनभित्रका दलहरूले मेयर र उपमेयरमा नेपाली कांग्रेस र जसपालाई दिएपछि वडाहरूमा माओवादी र नेकपा एकीकृतलाई दिनुपर्नेमा त्यस्तो नभएर कांग्रेसले एकलौटी निर्णय गरेको गठबन्धनभित्र कांग्रेसइत्तरका नेताहरूको बुझाइ छ। कांग्रेससँग वडाहरूमा तालमेल नमिलेपछि कतिपय वडामा नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेस एक्लाएक्लैले उम्मेदवारी दर्ता गराएका छन्।
मेयर उपमेयरमा तालमेल भएको नेपाली कांग्रेस र जसपाका बीचमा पनि अहिले अविश्वासको अवस्था देखिएको छ। नेपाली कांग्रेसबाट उपमेयरमा बागी उम्मेदवार गंगा सुबेदीले उम्मेदवारी फिर्ता नलिएको, पहाडे समुदाय भएको क्षेत्रमा कांग्रेसले भोट नमागिदिएको आरोप जसपाले लगाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले पनि जसपाको बाहुल क्षेत्र मधेशी समुदाय भएको ठाउँमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालालाई भोट नमागेको तथा मधेशी भोट काट्नको लागि जसपाले उमेश यादवलाई सघाएको आरोप–प्रत्यारोप हुँदै आएको नेताहरूले बताएका छन्। भोट नमागेको बिषयलाई लिएर भ्रम छर्ने काम भएको जसपाका नेता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवले बताए। एकले अर्कोलाई विश्वास गर्ने अवस्था नभएपछि चुनावी तालमेल गरेका दलका मेयर र उपमेयरका उम्मेदवारहरू केही ठाउँमा बाहेक छुट्टाछुट्टै चुनावी प्रचारमा छन्।

विराटनगर महानगरपालिकाका वडामा भने नेकपा माओवादीले पाँचवटा वडामा नेकपा एकिकृत समाजवादीको अध्यक्षका उम्मेदवारलाई सहयोग गर्ने, जसपाले ३ वटा वडाको अध्यक्षलाई सहयोग गर्ने र नेकपा एकीकृत समाजवादीले तीनवटा वडामा माओवादीलाई समर्थन गर्ने सहमतिअनुसार त्यही अनुसारको उम्मेदवार लिएर अघि बढेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here