भरतपुर । सत्ता गठबन्धनको तर्फबाट भरतपुरमा मेयर पदको उम्मेदवार बनाइएको रेणु दाहालका बिरुद्व बागी उम्मेदवारी परेपछि सम्झाएर उम्मेदवारी फिर्ता गराउने जिम्मेवारी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिईएको सत्ता गठबन्धनले जनाएको छ ।
पौडेलले आज विहान भरतपुर लायन्स चोकमा रहेको कांग्रेस केन्द्रीय सदस्य एवं व्यवसायी उमेश श्रेष्ठको सिराइचुली होटलमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेल र उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई भेटेर उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
हाल भरतपुरमै रहेका सभापति देउवाले रामचन्द्र पौडेलसँगको भेट सकारात्मक भएमात्र आफूले जगन्नाथ पौडेल र उहाँका प्रस्तावक एवं समर्थकसँग भेट्ने बताएको निकट एक नेताले बताउनु भयो ।
पौडेलले आज गठबन्धनका सबै नेता भरतपुरमा रहेको र जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरे सकारात्मक चुनावी सन्देश दिन सकिने बताउनु भयो ।
भेटमा जगन्नाथ पौडेलको टिमले आफूहरू रेणु दाहालसमेत गठबन्धनका नेताहरूसँग सामूहिक बसेर छलफल गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । पौडेलले पार्टीले आफूलाई अहिलेसम्म नसम्झेको र आफ्नो उम्मेदवारीलाई कांग्रेसको बागी भनेर नबुझीदिन आग्रह गरेका थिए ।
यसअघि कांग्रेसका केन्द्रीय सदस्यद्वय गृहमन्त्री बालकृष्ण खाँड र विनाविभागी राज्यमन्त्री उमेश श्रेष्ठले गरेको भगीरथ प्रयत्न सफल नभएपछि सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेललाई काठमाडौँ आउन भनेका थिए ।
तर पौडेलले आफू निर्वाचनको काममा व्यस्त रहेकाले आउन नसक्ने प्रतिक्रिया दिए ।
सत्ता गठबन्धनको एकीकृत चुनावी आमसभाका लागि अहिले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन अहिले कांग्रेसका केन्द्रीय नेताहरूको ध्यान जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउनेतर्फ छ ।
यद्यपि, त्यसका लागि जगन्नाथ पौडेलको समूह सकारात्मक देखिएको छैन ।





