स्थानीय तह निर्वाचनः उम्मेदवारको खर्च बैंक खातामार्फत गर्न निर्वाचन आयोगको निर्देशन


२१ बैशाख २०७९, बुधबार ०६:५९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ ।

निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे ।

आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेकाे स्मरण गराएकाे छ ।​

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् ।

यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्चगर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here