काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गर्नु भएको छ ।
‘कसैको उम्मेदवारीका बारेमा म केही भन्न चाहन्नँ । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनुपर्ने आवश्यक्ता नै छैन,’ ओलीले भन्नु भयो, ‘त्यस कारण म कसैका बारेमा केही भनिरहन चाहन्नँ ।’
ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको टिप्पणी गर्नु भयो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गर्नु भयो ।
काठमाडौंलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको ओलीले बताउनु भयो ।





