काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रहरी संगठनलाई विवादमा ल्याएको बताउनु भएको छ ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले वरीयता मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको प्रक्रिया नै गलत भएको बताउनु भयो । यो निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको उहाँले उल्लेख गर्नु भएको छ ।
“वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ,” कोइरालाले लेख्नु भएको छ।
सरकारले आइतबार नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।





