काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् । बिभिन्न जिल्लाका स्थानीय तहमा परेको बागी उमेद्वारी फिर्ता गराएर आधिकारीक उम्मेद्वारलाई सहयोग गरेर जाने बताबरण बनाउन स्थानीय, जिल्ला र प्रदेश तहका नेता पनि लागि परेका छन् ।
पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ ।
सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहेका हुन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने बताउनुभयो । त्यसपछि शनिबार निर्वाचन चिह्न प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।





