बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धता पत्र विहिबार सार्वजनिक गरेको हो ।
नगर कमिटिले जनमुखि कामहरुलाई समावेश गरेर जनता समक्ष ल्याएको प्रतिवद्वता पत्रमा सर्वसुलभरुपमा प्राविधिक,व्यवसायिक,गुणस्तरीय शिक्षामा जोड दिइएको छ । बिर्तामोड नगरपालिकालाई पूर्वकै उत्कृष्ठ शैक्षिक हवका रुपमा विकास गर्ने योजनाका साथ सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पूर्ण निःशुल्क प्रदान गर्ने, १५ वर्ष माथिका ९५ प्रतिशत नागारिकहरुलाई साक्षर बनाइने उल्लेख गरीएको छ ।
प्रतिवद्वता पत्रमा विर्तामोडको कृषि उत्पादनलाई बृद्धि गर्न जैविक÷अर्गानिक कृषिलाई प्रोत्साहित गर्दै निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक पद्धतिमा रुपान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने,थप ३ वटा चिस्यान गृह,माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने, कृषि बजारको व्यवस्थापन गर्ने, विभिन्न वडाहरुमा थप ५०० वटा स्यालो ट्युवेल जडान गरी थप करिव २००० विघा जग्गामा सिचाईको व्यवस्था गर्ने, २००० कृषकहरुलाई कृषी औजार,उपकरण वितरण गर्ने,बिषादि परीक्षण गर्ने प्रयोगशालालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत,साधन तथा जनशक्ति उपलब्ध गराइने,मासु,माछा,अण्डा तथा दुध र दुधजन्य वस्तुहरुमा नगरलाई आत्मनिर्भर बनाई निर्यात हुने गरी पशुपालनको क्षेत्रमा ब्यापक कार्यक्रमहरु तर्जुमा गर्ने जनाइएको छ ।
यस्तै स्वस्थ जीवनशैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै बिर्तामोडलाई मेडिकल हव बनाइने, बिर्तामोड ३ मा रहेको नगर अस्पताललाई सुरक्षित प्रसुती गृहसहितको ५० शैयाको बनाउने, नगर अस्पतालमा मृगौलाका रोगीहरुका लागि डायलाइसिस सेवाको ब्यवस्थापन गरि ५० वटा अक्सिजन सिलिण्डर ब्यवस्था गर्ने योजना अघि सारीएको छ ।
यस्तै फोहोरबाट मोहोर निकाल्न सार्वजनिक, निजी र सहकारीको साझेदारीलाई अगाडि बढाइने, डोमालाल राजवंशी रंगशालाको स्तर उन्नति गरी ५ वर्षभित्रमा कम्तिमा ७ हजार ५ सय सीट क्षमताको प्याराफिट,कवर्ड हल निर्माण गरिने,मदन भण्डारी खेल मैदानलाई व्यवस्थित गरी क्रिकेट एकाडेमी,फुटवल एकाडेमी तयार गर्ने साथै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरु तयार गरिने जनाइएको छ ।
यसैगरी नगरपालिकाका सवै वडाहरु छुने रिंग रोड ५ वर्ष भित्रमा निर्माण सम्पन गरी गुणस्तरीय यातायत सेवा सञ्चालन गर्न व्यवसायीहरुसँग समन्वय गरिने, निर्माणमा न्यूनतम निर्माण संहिता तथा मापदण्ड पालना गरिने÷गराइने, नगरभित्रका सडकहरुलाई बर्गीकरण गरी ५ वर्षभित्रमा कम्तिमा १२५ किलोमीटर सडक कालोपत्रे तथा पेभिङ्ग र बाँकीलाई उच्चस्तरीय ग्राभल गरिने,ग्रामीण भेगका अधिकाँस टोलहरु जोड्ने छोटो बाटोमा पेवर्स तथा व्लक बिच्छ्याउने कामगरी स्र्माट सडक निर्माण गरिने जनाइएको छ ।
यसैगरी प्रत्येक उद्योगी व्यापारी व्यवसायीलाई भयरहित वातावरणमा आत्मसम्मान सहित उद्योग, व्यापार व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित गरी बिर्तामोडलाई आकर्षक कमर्सियल हव (व्यापारिक केन्द्र) बनाइने,उद्योगी व्यापारी,व्यवसायीको लागि १ वर्ष भित्रमा विपत राहत कोष स्थापना गरी निरन्तर सञ्चालन गरिनेपनि प्रतिवद्वता पत्रमा उल्लेख गरीएको छ ।
२० पृष्ठ लामो प्रतिवद्वता पत्रमा रेलमार्गमा परेका जग्गा धनीहरुलाई समयमा यथोचित मुवाब्जा उपलब्ध गराउन समन्वय गरिने, बिर्तामोड नगर प्रज्ञा प्रतिष्ठान स्थापना गरिने पनि उल्लेख गरीएको छ ।
प्रतिवद्वता पत्र मस्यौदा निर्माण समितिका संयोजक रोमणी भट्टराईले प्रतिवद्वता पत्र प्रस्तुत गर्नु भएको थियो । प्रतिवद्वता पत्र सार्वजनिक कार्यक्रममा एमाले झापा इन्चार्ज अग्नि खरेल,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,पुर्व राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटी,नरेश खरेल,प्रदेश सांसद एकराज कार्की,जसमाया गजमेर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।





