टिकट बाँडफाँटमा कांग्रेस भित्र चरम असन्तुष्टि, झापाका पुराना नेताद्वारा पार्टी परित्यागको लहर


१२ बैशाख २०७९, सोमबार ११:४४ मा प्रकाशित

झापा । स्थानीय तहको चुनावका लागि टिकट बाँडफाँटमा तफडा हुँदै गएपछि नेपाली कांग्रेसका झापाका उच्च नेतृत्व तथा पूर्व नेतृत्वले पार्टीबाट राजीनामा दिन थालेका छन्।

नगरपालिकाका मेयर तथा उपमेयर, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष लगायत पदमा टिकट बाँडफाँट गर्दा पार्टीले पुराना तथा त्यागी नेता तथा कार्यकर्तालाई पाखा लगाएको भन्दै पार्टीका पुराना नेता तथा कार्यकर्ताले राजीनामा दिनेको लहर चलेको छ।

नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा आइतबार राजीनामा दिइसकेका छन्।

कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै राजीनामा दिएको बताए।

बाह्रदशी गाउँपालिकामा घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामुहिक राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउँदै उनले ४५ वर्षे कांग्रेसको राजनीति यात्राबाट सँधैका लागि पूर्ण विराम लगाएको घोषणा गरे। उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए।

त्यस्तै नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेरबहादुर थापाले पनि पार्टी परित्याग गरेका छन्।

उनले सामाजिक सञ्जालमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसबाट मेयरमा चुनाव लड्नका लागि उनले निकै ठूलो कसरत गरेका थिए।

थापाले भने, ‘कनकाईको मेयर म उठ्छु। पार्टीको बागी उम्मेदवार हुनु भन्दा पार्टी छोडेर स्वतन्त्र उठ्नु राम्रो हो नि।’

०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरुको हावी भयो भन्दै परित्याग गरेका छन्। उनी निर्माण व्यवसायी समेत हुन्।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पनि पुनः पार्टीबाट सोही गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट पाउने संकेत पाएपछि आइतबार राजीनामा दिएका थिए।

तर पार्टीले पुनः उनलाई टिकट नदिने भएपछि उनी पनि रुष्ट बनेका छन्।

उनले भने, ‘यो अति भयो। अब के गर्ने भन्ने निर्णय छिट्टै गर्छौं।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here