काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि हिजो कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सवै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
बैशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सवै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ ।





