जनप्रतिनिधिले राजीनामा गर्ने कि नगर्ने विषयमा सर्वोच्चमा वैशाख ४ गते सुनुवाइ


१ बैशाख २०७९, बिहीबार १०:५७ मा प्रकाशित

काठमाडौं । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु पहिला नै राजीनामा गर्ने कि नगर्ने विषयमा सर्वोच्च अदालतमा वैशाख ४ गते सुनुवाइ हुने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा वैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुने भए अहिलेका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्ने दिन वैशाख ११ र १२ गते पहिल्यै राजीनामा गरेको हुनुपर्ने उल्लेख थियो ।

उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

शेर्पाले दायर गर्नुभएको उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरी तत्काल आचारसंहिताको उक्त प्रावधान कार्यान्वयन नगर्न भनेको थियो ।

त्यसपछि अन्तरिम आदेशका लागि चैत १३ गते पेसी तोकिएकोमा सुनुवाइ नै हुन सकेको थिएन ।

निर्वाचन आयोग सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश खारेज गरिपाउँ भनेर अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

अदालतले निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट र आयोगको निवेदनलाई सँगै राखि वैशाख ४ गते सुनुवाइका लागि पेसी तोकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here