सुनसरी-मोरङ औद्योगिक करिडोरमा १४ घण्टासम्म लोड सेडिङ !


२० चैत्र २०७८, आईतवार १५:१७ मा प्रकाशित

बिराटनगर । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको उद्योगीहरूले बताएका छन् ।

इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडि देखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक साता देखि वेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् ।

उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् ।

प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ ।

सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौं खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताउनु भयो ।

उहाँले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताउनु भयो । सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ । अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गर्नु भयो ।

उहाँले भन्नुभयो,‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो । सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं । खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो । अत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ । अहिले वर्षा सुरु हुनु भन्दा पहिले र जाडो पछि खपत बढ्ने तर नदिनमा पानी कम हुने हुन्छ । यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ । तर यहिबीचमा रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन । भारतबाट विद्युत आयात गरिरहेका छौं । अहिले अप्रत्याशित विद्युत अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here