तीनदिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री देउवा भारत प्रस्थान


१८ चैत्र २०७८, शुक्रबार १४:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति शुक्रबार भारत प्रस्थान गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा भारत जानुभएको हो ।

त्यसअघि प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी लगाएतले बिदाई गर्नुभएको थियो ।

सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा.आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी लगाएत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here