काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत रुपमा घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा पर्वको अवसरमा उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।
काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।
घोडेजात्राका दिन नेपाली सेनाले आज टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ ।
काठमाडौंको टुँडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा आजैका दिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम अन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गर्दैछ ।





