दमक । झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा गोर्खा व्याइज सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले सेमिफाइनलमा प्रवेश गरेको हो । एक÷एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे ।
टाइब्रेकरमा दार्जिलिङ पुलिस क्लबका आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । खेल अवधिमा ८ औं मिनेटमा विजयी टीम गोर्खाको तर्फबाट यानिक गोल गरे । यस्तै पुलिस क्लवको तर्फबाट डीबक्सको फललाई पेनाल्टी मार्फत खेलको १३ औं मिनेटमा भाइचाङ राईले गोल गरे ।
खेलको म्यान अफ द म्याच विजयी गोर्खा ब्वाइजका अवाडे भएका छन् । अवाडेले नगद दश हजार रुपैयाँ प्राप्त गरेका छन् । भोलि त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।
४ वटा विदेशी सहित १० वटा टीमको सहभागिता रहने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।





