आज विश्व क्षयरोग विरुद्धको दिवस, धेरै सङ्ख्यामा नयाँ बिरामी भेटिएकाले क्षयरोग निवारणमा चुनौती


१० चैत्र २०७८, बिहीबार ११:३४ मा प्रकाशित

काठमाण्डौ, चैत १० । आज विश्व क्षयरोग विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका यो दिवस मनाइँदै छ ।

नेपालमा क्षयरोगको सङ्क्रमण घट्दै गएको भनिए पनि नयाँ बिरामीको सङ्ख्या समेत धेरै रहेको एक अध्ययनले देखाएको छ । सन् २०१८ मा भएको अध्ययनले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी देखाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

अध्ययन अघि १३ हजार जना नयाँ बिरामी देखिने गरेका अनुमान गरिएको थियो । अनुमान गरिएभन्दा धेरै सङ्ख्यामा नयाँ बिरामी भेटिएकाले क्षयरोग निवारणमा चुनौती बढेको उहाँले बताउनुभयो । नयाँ–पुराना समेत गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान् छ । तीमध्ये गएको वर्ष २८ हजार ६ सय ७७ जना मात्रै उपचारको पहुँचमा पुगेका छन् । ४० हजारभन्दा धेरै स्वास्थ्यसंस्थाको सम्पर्कभन्दा बाहिर छन्।

क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुन्छ। सरकारले क्षयरोगको औषधि उपचार निः शुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको डाक्टर ठाकुरले बताउनुभयो ।

सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here