झापा, चैत ६ । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले चौतारीले स्थापना गरेको पत्रकार साहारा उपचार कोषमा आफ्नो जन्मदिनको अवसर पारेर ५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । फजुल खर्च गरेर जन्म दिन मनाउने पछिल्लो चलनलाई चिर्दै उहाँले संगठनको र कोषको सुदृढिकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ।
सुर्योदय टेलिभिजनको सभाहलमा आज (आइतबार) आयोजित रकम हस्तान्तरण कार्यक्रममा टेलिभिजनका समाचार संयोजक समेत रहनुभएका योञ्जनले आपूm बिरामी परेका बेला कोषको महत्व बुझेर पनि सहयोग गरेको बताउनु भयो । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश सदस्य विष्णु मैनाली उप्रेती, रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियार लगायतको उपस्थितीमा योञ्जनले चौतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्लेलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
आफ्ना सदस्य बिरामी हुँदा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा कम्तिमा चालु आर्थिक वर्षभित्र १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएकोे काफ्लेले जानकारी दिनुभयो । उहाँले कोषलाई सहयोग गर्न झापाका सबै पत्रकारलाई आग्रह समेत गर्नुभयो । रकम ग्रहण गर्दै उहाँले स्वास्थ्योपचारमा प्रेस चौतारीका सदस्य तथा झापाली पत्रकारहरुलाई पैसाको अभावका कारण समस्या आउन नदिने बताउनुभएको छ ।





