लेटाङमा भएको घटनामा महिला प्रहरीको ज्यान गएको बारे छानबिन सुरु


७ चैत्र २०७८, सोमबार ११:३३ मा प्रकाशित

मोरङ, चैत ७ । मोरङको लेटाङमा भएको घटनामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।

गत शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन्।

होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो।

छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

तनाव बढेपछि लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here