झापा । बिर्तामोडमा जथाभावी फोहोर फाल्ने ३ वटा सवारी नगर प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा जथाभावीरुपमा फोहोर फाल्न थालिएपछि बिर्तामोड नगर प्रहरीले शुरु गरेको निगरानी गस्तीका क्रममा सोमबार राती दुई वटा मोटरसाइकल र एउटा साइकल नियन्त्रणमा लिइएको हो ।
रातीको समयमा गरेको निगरानी गस्तीकाक्रममा फोहोर ल्याएर सडक छेउमा फाल्दै गरेको अवस्थामा हिकोला रोडबाट मे ९प ५०८५ नम्बरको मोटरसाइकल सहित सुवास कटेल, मे ५प ६६६१ नम्बरको मोटरसाइकल सहित कुमार श्रेष्ठ र वान स्टप महल अगाडिबाट साइकल सहित रेनु मडीलाई नियन्त्रणमा लिएको बिर्तामोड नगर प्रहरी इन्चार्ज किरण पाण्डेले जानकारी दिनु भयो ।
पक्राउ परेका सवारीलाई फेरि सडकमा फोहोर नफाल्ने सर्तमा कागज गरी छोडिएको नगर प्रहरीले जनाएको छ । उनीहरुलाई पहिलो पटक फेला पारीएकोले कुनै जरिवाना नगरीएको जनाइएको हो ।
बिर्तामोड बजार क्षेत्रका सडकमा जथाभावी फोहोर फाल्नेक्रम बढेसंगै दुर्गन्धित बन्दै गएको छ । सोमबार बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोड उद्योग वाणिज्य संघ तथा विभिन्न संघ संस्थाहरुले एक दिने वृहत सरसफाई कार्यक्रमको आयोजना गरेका थिए ।





