झापा, कार्तिक २ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ ।
गिरी परिवारले मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई बिर्तामोड ४ स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उक्त रकमको चेक प्रदान गर्नु भएको हो । हाल काडमाडौंको ग्लोबल कलेज कक्षा ११ मा अध्ययनरत् कृतिमाको जन्मोत्सव कात्तिक ५ गते हो ।
आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा खुशी व्यक्त गर्दै उहाँले आफ्नो रुचि पनि समाजसेवा रहेको बताउनु भयो । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दीगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताउनु भयो । लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैया बनाउन जोड दिदै उहाँले आफ्नो तर्फबाट अझ सहयोग गर्ने बताउनु भयो ।
पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारको दीगो हितका लागि झापामा उदाहरणीय कार्य भएको भन्दै सहयोगका लागि गिरी परिवारलाई धन्यवाद दिनु भयो । झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले गिरी परिवारले गरेको सहयोग झापाली सञ्चार क्षेत्रका लागि महत्वपूर्ण भएको बताउदै एक पटकका लागि कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गर्नु भयो । कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गर्नु भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्य बिनोद पाण्डे, पत्रकारहरु रमेश तिवारी, सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।





