ब्याट्सम्यान रोहितकोे ओमान टुरमा गजज्बको ब्याटिङ


२९ भाद्र २०७८, मंगलवार ११:३९ मा प्रकाशित

काठमाडौं, भदौ २९ । ब्याट्सम्यान रोहितकुमार पौडेलले ओमान टुरमा गजज्बको ब्याटिङ गरिरहेका छन् । नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई म्याच र क्रिकेट विश्वकप लिग २ को सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध जित हासिल गर्दा रोहितले उत्कृष्ट ब्याटिङ गरेका हुन् ।

दुई खेलमा नटआउट रहेका उनले दुई खेलमा अर्धशतक प्रहार गरे । उपकप्तान दीपेन्द्र सिंह ऐरी ओमान पुगेर अभ्यासका क्रममा घाइते भएर सिरिज खेल्न नसक्ने भएपछि रोहितले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् ।ओमान टुरमा उनले व्यक्तिगत कीर्तिमानसमेत बनाइरहेका छन् । यस्तै नेपालको तर्फबाट सर्वाधिक साझेदारीमा पनि उनले कीर्तिमान बनाइसकेका छन् ।

सन् २०२० मा नेपालमै भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग खेलेपछि उनले सिरिजको बाँकी तीन खेल खेल्न पाएनन् । त्यसपछि टी–२० टिमबाट पनि ड्रप भएका थिए । तर निरन्तर मिहिनेत र कडा परिश्रमपछि उनी टिममा फर्किए । अहिले उनले प्रदर्शनबाट आफूलाई प्रमाणित गरिरहेका छन् ।

सोमबार नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गर्दा रोहितले ओडीआई क्रिकेटमा दुई नयाँ कीर्तिमान बनाएका हुन् । रोहितले अमेरिकासँग अविजित ६२ रन बनाएका छन् । रोहितले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरेका छन् ।

ओडीआईमा नेपालका लागि सर्वाधिक तीन अर्धशतक प्रहार गर्ने रोहित पहिलो खेलाडी बनेका छन् । यस्तै ओडीआईमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । रोहितले यसअघि पिएनजीविरुद्धको दोस्रो खेलमा ८६ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here