काठमाण्डौ, भदौ २७ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
उहाँले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूसँग भोलि सोमवार दिउँसो साढे २ बजे छलफल गर्न लाग्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
बैठकमा संसद् बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि सभामुखले बैठक बोलाउनुभएको हो ।
नेकपा एमालेले लगातार तेस्रो दिन आज पनि संसद् बैठकमा नाराबाजी गर्दै अवरोध गरेको छ । गएको शुक्रवार नाराबाजीकै बीचमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेको छ ।





