संखुवासभा, भदौ २६ । संखुवासभा मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनकी आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, ३२ वर्षीया बुहारी रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो । कार्की हत्या गरिएका तेजबहादुर कार्कीका भतिजा पर्छन् ।
घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो । घटनाबारे थप जानकारी आइतबार पत्रकार सम्मेलन गरेर दिइने डिएसपी सुवेदीले बताउनुभयो ।





