झापाका सात जनप्रतिनिधिद्वारा एमाले परित्याग, एकीकृत समाजववादीमा सनाखत


२२ भाद्र २०७८, मंगलवार १७:३७ मा प्रकाशित

झापा, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित झापाका सात जना जनप्रतिनिधिले एमाले पार्टी परित्याग गरी माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ७२३ जनप्रतिनिधिमध्ये ४९३ एमालेबाट जितेका छन् । भदौ १८ गतेसम्म एक जना जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी राजेकोमा आज अन्तिम दिन थप ६ जनाले समाजवादी रोजेको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

एकीकृत समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बु, शिवसताक्षी नगरपालिका ७ का वडाध्यक्ष नविन इजम, झापा गाउँपालिका ७ नम्बर वडा सदस्य इश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा नगरपालिका ६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल रहेको समाजवादी प्रेस संगठनका पत्रकार नेता तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

वडा सदस्य दाहालले भदौ १८ गते र बाँकी ६ जनाले आज (मंगलबार) जिल्ला निर्वाचन कार्यालय झापा पुगेर समाजवादीमा सनाखत गरेका हुन् । ओलीको गृहजिल्लामा माधवको एकीृकत समाजवादीमा जनप्रतिनिधि शुन्य बनाउने सोमबारसम्म सबैतिरबाट सक्दो प्रयास भएपनि त्योे सफल हुन नसकेको समाजवादी रोजेका वडा अध्यक्ष इजमले बताउनुभयो ।

एमालेका संस्थापक पक्षहरुले विभिन्न जालझेललाई लिएर अघि बढिरहेकोले १० बुँदे सम्झौतालाई पनि पत्याउन नसक्ने अवस्थामा पुगेर मैले एकीकृत समाजवादी रोजेको वडा अध्यक्ष इजमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here