एजेन्सी, भदौ १९ । सरकारमा महिला सहभागिताको माग गर्दै अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन अगाडि महिलाहरूले प्रदर्शन गरेका छन् । तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिएका हुन्।
अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।
उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन्। उनीहरूले शक्तिशाली मन्त्रिपरिषदमा महिलालाई पनि स्थान दिनुपर्ने, महिला पुरूष बराबरी लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए।
बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।
त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो । तालिबानले उसको शासन इस्लामी कानून अर्थात् शरियाअनुसार हुने जनाएको छ ।
तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दीसमेत जारी गरेको छ





