विराटनगर, भदौ १० । आज बस्ने संसदीय दलको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गर्नु भएको छ ।
राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी भएको छ । आज नै आचार्यलाई मुख्यमन्त्रीको शपथ गराउने सम्भावना समेत छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुल्न लागेको हो ।
प्रदेश १ मा एमालेका ५१ जना सांसद छन् । नेकपा समाजवादीले आफ्नो पक्षमा ११ जना रहेको दाबी गर्दै आए पनि नेकपा एमालेले चाहिने सङ्ख्या आफूहरुसँग रहेकोले भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको एक नेताले बताएका छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ ।
कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन् । समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरुको दाबी छ ।





