काठमाडौ, भदौ ८ । सरकारलाई कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिनुभएको हो।
समितिका सदस्य डा सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिनुभयो । त्यस्तै समितिकी अर्की सदस्य अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताउनु भएको छ । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उहाँको भनाइ छ ।
कोभिडको जोखिम बड्ढै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।
बोर्डले यस अघि जारी गरेको परीक्षा तालिका अनुसार साउन ३१ गतेबाट परीक्षा सञ्चालन गरेको भए बुधबार परीक्षा सकिन्थ्यो । परीक्षा स्थगित गर्दाको समयको कोरोना संक्रमण दर र अहिलेको कोरोना संक्रमणदरमा खासै परिवर्तन भने देखिएको छैन ।





