काठमाडौं, भदौ ३ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको चौतर्फी विरोध भइरहँदा सर्वोच्च अदालतमा यसविरुद्ध रिट निवेदनको ओइरो लाग्न थालेको छ । सर्वोच्चमा उक्त अध्यादेशविरुद्ध हालसम्म पाँचवटा रिट निवेदन पेस भइसकेको छ । अधिवक्ता प्रवेश केसी लगायतले रिट निवेदन पेस गर्नुभएको हो ।
सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी अध्यादेश ल्याएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।
सोही अध्यादेश अनुसार नेकपा एमाले र जसपा नेपाल विभाजनको प्रक्रिया पनि सुरु भइसकेको छ । उक्त अध्यादेशको प्रावधानअनुसार एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा अलग दल दर्ताको प्रक्रिया आरम्भ भइसकेको छ ।





