३७ लाख बराबरको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार १७:५५ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पौने पाँच सय ग्राम सुनसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङको मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङ छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीबाट आठ वटा सुनको बाला र दुई वटा औंठी गरी चार सय ७४ ग्राम सुन बरामद गरेको जानकारी दिए।

प्रहरीका अनुसार बरामद गरिएको सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ। बास्तोलाका अनुसार बिहान करिब सवा ८ बजे रिसब विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका थिए। उनलाई शंकास्पद रूपमा देखेपछि प्रहरीले निगरानी गरेको थियो।

उनीहरूमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ। बुधबारमात्रै प्रहरीले सिनामंगलस्थित एक होटलबाट एक किलो आठ सय ६६ ग्राम सुनसहित तीन जना भारतीयलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरु पनि सुन संकलक रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here