काठमाण्डाै ।अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ ।अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ ।
तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ ।राष्ट्र संघका अनुसार गएको मे महिना यता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ ।यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ ।तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।
शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक नदेखिएको राष्ट्र संघको भनाइ छ ।अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ ।अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ ।स्वास्थ्यकर्मीको हत्या हुन थालेपछि खोप अभियान प्रभावित भएको हो ।





