बिर्तामोड नगर अस्पतालमा फार्मेसी सञ्चालनकालागि आव्हान गरीएको टेण्डर ‘प्रक्रियासंगत’


२० जेष्ठ २०७८, बिहीबार १७:४३ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले नगर अस्पतालका लागि बिमा कार्यक्रम अन्तर्गतको फार्मेसी सञ्चालनका लागि प्रक्रियासंगत तरिकाले शिलबन्दी दर भाउ पत्र आव्हान गरेको पाइएको छ ।
नगरपालिकाले २०७८ साल बैशाख २३ गते सार्वजनिक सुचना जारी गर्दै मितिले १६ औँ दिनको १२ बजे भित्र E-Bidding का माध्यमबाट वार्षिक न्युनतम १२,००,००० (मुल्य अभिवृद्वी कर बाहेक) शिलबन्दी दरभाउ पत्र पेश गर्न आव्हान गरेको पाईएको हो ।

नगरपालिकाको वेब साइड birtamodmun.gov.np तथा सौर्य राष्ट्रीय दैनिकमा प्रकाशित सार्वजनिक सुचनाका आधारमा ५ वटा फर्मले दरभाउ पत्र पेश गरेका छन् ।जसमा जनकल्याण फार्मेसी बिर्तामोड ५,अमन फार्मेसी बिर्तामोड ७,कन्काई माई ड्रग हाउस बिर्तामोड ५,पुष्पलता मेडिकल हल बिर्तामोड ४ र कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ रहेको छ ।

कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ले सबैभन्दा बढी ३६ लाख ६० हजार (मुल्य अभिवृद्वी कर बाहेक) शिलबन्दी दर भाउ पत्र पेश गरेको नगरपालिकाको सुचना प्रविधि अधिकृत जयराम चौलागाईले बताउनु भयो ।उहाँले अन्य फर्महरुमा जनकल्याण फार्मेसी १२ लाख ११ हजार,अमन फार्मेसी १२ लाख,कन्काई माई ड्रग हाउस १६ लाख ४९ हजार ७९९ रुपैयाँ ९७ पैसा र पुष्पलता मेडिकल हलले ३६ लाख रुपैयाँको शिलबन्दी दर भाउ पत्र पेश गरेको जानकारी दिनु भयो ।

उपसचिव तिलचन भण्डारीको संयोजकत्वमा बोलपत्र मुल्यांकन समिति गठन गरेको नगरपालिकाले हालसम्म कसैसंग पनि संझौता गरिसकेको छैन ।यसका लागि आवश्यक प्रक्रिया अनुसार संझौता हुने नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि स्वास्थ्य विमा वोर्डका निर्देशक दामोदर बसौला र नगरप्रमुख धुर्वकुमार शिवाकोटी विच २०७७ फागुन २७ गते संझौता भएको थियो । गत जेठ १ गते देखि सेवा सुचारु गर्ने भनिए पनि कोरोना संक्रमणकाकारण आन्तरिक व्यवस्थापनमा ढिलो भएको नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले बताउनु भयो ।उहाँले अब चाँडै सेवा सुचारु गर्ने जानकारी दिनु भयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here