दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उपचुनावमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।
दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् ।
उहाँहरुलाई हिजो निर्वाचन आयोगले मताधिकार दिएको हो ।जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले हिजो मतदानको अधिकारको निर्णय गरेको हो । यसअघि आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा उनीहरुको नाम थिएन ।
यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । यस्तै पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी दुई सय १७ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।





