काठमाण्डाै । भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ ।एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गुमाउनेको सङ्ख्यामा भने धेरै सुधार नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पछिल्लो २४ घण्टामा तीन हजार चार सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
भारतमा नयाँ सङ्क्रमणमा कम र निको हुने दर बढेपछि अस्पतालहरुमा अक्सिजन लगायतको अभाव कम भएको छ । तर कोरोना सङ्क्रमितमा देखिएको ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको समस्या बढ्दै गएपछि अर्को चिन्ता थपिएको छ ।





