काठमाण्डौ । नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ ।हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ ।तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ ।
सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् ।यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवेश गरेकाले जम्मा १३ जना सांसद रहेका छन् ।मुख्यमन्त्री पद जोगाइरहन त्रिलोचन भट्टलाई अब १४ जना सांसदको आवश्यकता रहेको छ ।
उहाँले कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सदस्यको साथ लिएर बहुमत जुटाउन सक्नुहुन्छ तर जसपाकी प्रदेशसभा सदस्य मालामती राना थारु महन्थ ठाकुर पक्षमा रहेकाले भट्टलाई साथ दिनेमा शङ्का रहेको छ ।बहुमतको लागि एमालेलाई थप तीन जना प्रदेशसभा सदस्य आवश्यक पर्ने देखिएको छ तर उसलाई पनि बहुमत जुटाउन सकस देखिन्छ ।
एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने र नयाँ सरकार बन्न पनि कठिन हुने भएपछि केन्द्रमा जस्तै अन्योलको अवस्था देखिने सम्भावना बढेको छ ।





