वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु


६ जेष्ठ २०७८, बिहीबार ०९:४५ मा प्रकाशित

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ ।

अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुन लागेको हो। मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ  ।

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १०  र  प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर २ सय ३८ गरी ३ सय ४८  मतदाता  कायम रहेको  आयोगले जनाएको छ । यसैबीच, उपचुनावको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मतगणना बेलुकी ५ बजेदेखि सुरु गरिने र आजै बेलुकासम्ममा भर्चुअल माध्यममार्फत नतिजा सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here