चितवन । पछिल्लो २४ घण्टाभित्र चितवनमा २० जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै ६ जना र बाँकी चितवनका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा कपिवलवस्तु, धनुषाका १–१ जना, नवलपरासीका २ जना र चितवनका ३ जना गरी ७ जनाको मृत्यु भएको छ ।
कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही, तनहुँका १–१ जना, नवलपुरका २ जना गरी पाँच जना र पुरानो मेडिकल कलेजमा चितवनका २ जना, नवलपुर दाङ र कपिलवस्तुका १–१ जना गरी ५ जनाको मृत्यु भएको हो । भरतपुर क्यान्सर अस्पतालमा नवलपरासी, गुल्मी र रुपन्देहीका १–१ जना गरी तीन जनाको मृत्यु भएको छ ।
बुधबार ५१ जना निको भएका छन् । जिल्लाका विभिन्न अस्पतालका आइसीयूमा २ सय ६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना उपचाररत रहेका छन् । अहिले ५ सय २१ जनाको चितवनका विभिन्न अस्पतालहरुमा उपचार चलिरहेको छ ।





